मुख्य दिनहरू
घटस्थापनाले चाड सुरु गर्छ: घरको एउटा कोठामा जलले भरिएको कलश राखिन्छ, वरिपरि बालुवामा जौ छरिन्छ, र अँध्यारोमा उम्रिएको जमरा नै दशमीका दिन ठूलाबडाले कपालमा राखिदिन्छन्। त्यसपछिका छ दिन तपाईंबाट खासै केही अपेक्षा हुँदैन। सातौं दिन फूलपातीमा गोरखाबाट फूलपाती भित्रिन्छ र टुँडिखेलमा सलामी हुन्छ। महाअष्टमी र महानवमी बलिका दिन हुन् — दुर्गा मन्दिरमा, र धेरै घरमा परिवार पाल्ने पसल वा सवारीमा पूजा गरिन्छ। विजया दशमी टिकाको दिन हो: घरमूलीले अक्षता, दही र अबिर मिसाएर सानालाई क्रमैसँग टिका, जमरा र दक्षिणा दिन्छन्। त्यसपछिका पाँच दिन दशमीमा नभेटिएका आफन्त भेट्न हुन्छन्, र कोजाग्रत पूर्णिमाले चाड टुंग्याउँछ — त्यो रात नसुत्ने चलन छ।